बेलायतमा द्वन्द्वकालीन मुद्दा खेपिरहेका कर्णेल कुमार लामाले सफाइ पाए
7:26 AM
२१ भदौ, काठमाडौं । लामो समयदेखि बेलायतमा यातनासम्वन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाएका छन् ।दुई ट्रायलपछि यो फैसला आएको हो, जसको लागत एक मिलियन पाउण्ड अर्थात १४ करोड रुपैयाँ भन्दा बढी परेको छ ।
अदालतले मंगलबार अब तेस्रो ट्रायल नहुने घोषणा गरेको छ ।
लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले कर्णेल लामाका लागि यो अन्तिम सुनुवाइ भएको फैसला सुनाएको छ ।
साथै उनीविरुद्ध अब बेलायतको अदालतमा अर्को कुनै कारबाही प्रक्रिया सुरु गरिने छैन ।
सशस्त्र द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको भन्दै लामाविरुद्ध युद्ध अपराधसम्वन्धी मुद्दा लगाइएको थियो । तर, उनले आरोप अस्वीकार गर्दै आएका थिए ।
अदालतले अन्ततः उनीमाथिको आरोपमा प्रमाणित हुन नसकेको फैसला सुनाएको छ । न्यायाधीश स्वीनीले लामा अब स्वतन्त्र भएको र बेलायतको अदालतमा अर्को कारबाही नहुने बताए ।
सशस्त्र द्वन्द्वको समय कपिलबस्तुमा पक्राउ परेका जनक राउतलाई यातना दिएको भन्दै उजुरी परेपछि नेपाली सेनाका कर्णेल लामा २०१३ मा बेलायतमा पक्राउ परेका थिए । शान्ति मिसनमा खटिएका उनी बेलायतमा रहेका परिवार भेट्न जाँदा पक्राउ परेका थिए ।
0 comments